गल्लीबाट असनतिर जान्छन् दाउरेहरू लागी लाम,
केही मानिस खोजिरहेछन् यताउति पसल-पसलमा काम,
नून्याहा ढाक्रे लागिरहेछन् कन्ट्रोल-पसलतिर लाम ।
'छेराउटीले लैजाने मोरा' भरखरकी लमिनी भन्छे,
आलु-कवाब-पसलकी धोंमा किन नानी, यसो हेरी सोध्छे,
जिस्किने सिपाहीको मुख, झ्यालबाट आइमाईहरु हेर्छिन् ।
राजनीति-पार्टीको ढ्वाङ् दुगुरिरहेछ फलाक्दै वर-पर
नारायण-नारायण भन्दै लागिरहेछ मगन्ते अलि बर,
जंगबहादुरको घोडा किन्ने पछारिन्छ र कराउँछ पर !
अनिकाल यताउति चाहारी अगस्त्य को मुख बाइरहेछ,
भाग्यविधाताहरुका घरमा बफे डीनर चलीरहेछ,
साढेसातको दशा लागी गाउँका गाउँ उडिरहेछन् ।
ल कमिशनको तेस्रो बैठक- खबरकागज कराइरहेछ,
मानिस दिउँसै बत्ती बाली न्याय सडकमा खोजिरहेछ,
सरकार आफ्नू सफलता रेडियोबाट भूकिरहेछ ।
'मिस्टर संपत'- को विज्ञापन गल्लीनिरको भित्ता चुम्छ,
लमिनी र सिपाही आपसमा चुरोट साटी माया बुन्छन्,
आलु-कवाब-पसलको धोंमा जिल्ल परेर हेरिरहन्छे !
...........................
एक दिन-बाट, २०११