Last modified on 16 मार्च 2017, at 08:47

साँझपख / रमेश क्षितिज


बसिरहेछ झ्यालमा एउटा उदास अनुहार
धुम्धुम्ती डुब्दै गरेको घाम
र धमिलो हुँदै गएको पूर्व–पश्चिमको बाटो हेरेर,
मुरली बजाउँदै एउटा तन्नेरी
हिडिरहेछ पहाडको घुमाउरो बाटो
शान्त तलाउको किनारमा बसेर
प्रेमिकाबाट बिछोडिएको एउटा दुःखित युवक
हेर्दैछ पानीमा सल्बलाइरहेका घामका कलिला किरणहरू
र सम्झिदैछ पुराना दिन साँझपख

बतासका पदचापहरू सुनेर त्रस्त छन्
फूलका अनुहार
यस्तोबेला परदेश गएको लोग्नेलाई सम्झेर
आँगनमा बसेकी छ एउटी गृहिणी
पर रुँदैछ पानी घट्ट लगातार
टाकुरामा चङ्गा उडाइरहेछन् नानीहरू साँझपख

कल्याङ्–बल्याङ् सुनिदैछ स्वर
बरण्डामा खोक्दै बसिरहेछ त्यो बूढो
फाट्टफुट्ट बाटोमा हिँडिरहेका मान्छेहरू छन् मौन
बाँसघारीमा चिर्बिर गर्दैछन् चराहरू
गुच्चा हराएर त्यो स्कुले ठिटो
ओहोरदोहोर गर्दैछ स्कुल अगाडिको मैदानमा साँझपख

गाउँको सिरानको चिया पसलमा
जमघट छ मान्छेको÷आधि खेलिरहेछन् तास
आधि गर्दैछन् कुरा गाउँको राजकुलोको
हिंसा\ आतङ्कको
यसपालाको खेती र सरकारी विकासको
घामको पछ्यौरी ओढेको हिमाल तर चुप छ साँझपख

गालाबाट बगेको आँसुको धर्सोजस्तो देखिन्छ
पारि बग्दै गरेको दुब्लो नदी
घैला बोकेर उँभो–उँभो उक्लिरहेछन् पधेर्नीहरू साँझपख

चर्को स्वरमा बजिरहेको रेडियो काँधमा भिरेर
एक्लै हिडिरहेछ एउटा गाउँले
भर्खर हेल्थपोस्टको ढोका बन्द गरेर हिंडेको
पियन माइलो, जो डाक्टर हो यहाँको
उभिएको छ भट्टीबाहिर
र दिनभरि वस्तुभाउ चराएर
घर फर्किँदैछ सानी केटी साँझपख

यसबेला, मैतीदेवीको गल्ली भएर भित्र छिरेपछिको
एउटा छिँडीजस्तो सानो कोठामा
स्टोभ छ एउटा कुनामा
बाँसका ¥याक छन् र छन् सिल्बटका भाँडाहरू
अर्को कुनामा केही किताब÷सानो खासा रेडियो
र खाटमुनि छन् टिनका थोत्रा बाकसहरू

खाटमाथि पल्टेर म सोचिरहेछु
गाउँको कविता साँझपख !