उत्साहले माथि-माथि उठेका पैताला
जब असमर्थताको गह्रुँगो भार बोकी
भास्सिँदै तल-तल झर्छन् -
त्यसबेला म आफैँलाई मरेको पाउँछु साथी !
मलाई त जिउने रहर छ आफ्नै खुट्टाको भरमा
मलाई त जिउने रहर छ आफ्नै विश्वासको भरमा
अर्काको फोस्रो सहानुभूतिमा
म त निस्सासिन्छु साथी !
त्यसैले तिमीलाई भन्छु-
फुल्नु त यहाँ बेस हो फुल्नै पर्छ
काँडामा गुलाफ भई फुल्नै पर्छ
हिलोमा कमल भई फुल्नु पर्छ
कसैले भरेको हावामा
बेलुनझैँ नफुलेर
भीरमा पनि गुराँस भएर फुल्नु पर्छ ।