Last modified on 21 अगस्त 2020, at 20:21

साथीसँग / मार्गरेट स्येन / सुमन पोखरेल

हामीले सिर्जनात्मक मौनता कुँद्यौँ
निलम्बित मुस्कानका
समयको ओतमा ढल्किरहेका बेला
शान्त ध्यानमा
जब भावनाको उर्वरताबाट
शब्दबाट शब्द उम्रिए
शब्दबाट वाणी
मुखबाट मुखमा स्वास दिएर गरेको पुनर्जीवनका माध्यमबाट

अवसरको एउटा पाठशाला
चुपचाप एक्कसी
आफ्नै पारामा काम गरिरहन्छ

सिर्जनविज्ञान मन पराउँछु
तप्किँदै गरेको पानीको थोपो
खोलाको न्यानोलाई समात्दछ
फूल र फललाई
सारङ्गी र बाँसुरीलाई
स्वर्गीय पलको
कोमल उज्यालामा
ल्याउनलाई

प्राकृतिक रङहरू
आपसमा बाँडेर देखेका सपनाहरू
तिम्रा भावनाका लागि एउटा फूल
मेरा रहरका लागि एउटा फल
सौन्दर्यको सुखानुभूति
साथीको मुस्काइरहेको अँगालो ।