प्रिय पुरुष ।
आऊ साथी भई
बाँचौँ अब ।
पिता भनी मानें तिमीलाई
भाइ जानी चाहें
प्रेमी ठानी पछि लागें तिम्रो
पति मानी पुर्जे
पुत्र पाई गद्गद भएँ म
तर,
सबै सम्बन्धमा
जन्मेर बाँचेपछि पनि
सबै सम्बन्धलाई
जन्माएर हुर्काएपछि पनि
मनका कुरा मनमै रहे
भन्न सकिन्न कसैलाई केही ।
अंशअंश दिदै गएँ
सबै सम्बन्धमा सबैलाई
केही बचेन मेरो
अन्त्यमा आफैलाई ।
फगत छाया भई पछि लागें तिम्रो
कुनै रूपमा पनि साथी हुन सकेनौं
हामी एकअर्काको ।
साथी !
केही बोली, नबोली
जीवनका अनुभूति केलाउने
भावनालाई सुमसुम्याउने
एउटा मधुरो सम्पर्क ।
साथी !
केही नदिई, नमागी
कुनै अपेक्षा, आकाङ्क्षा नराखी
खालि एकअर्कालाई
बुझ्न सक्ने सामर्थ्य ।
प्रिय पुरुष !
बस साथी भई केही पल
साथ देऊ अब मेरो ।