ती आकाशका बादलका टुक्राहरूले
त्यसै बिलाएको, र त्यसै आकार बनेको हेरिरहनु
सानो सुख हो,
मेहनतले निर्माण भएका पसिनाका थोपाहरू चेहरामा देख्नु
सानो सुख हो,
सानो सुखको ठूलो सानो जे भने पनि हुने सानो इतिहास हो
बिम्बमा अल्झिरहेर कतै
त्यही बिम्ब बनाउनु, बिगार्नु कतै थियो –
सपनामा खोजिरहेर कतै नपाउनु र पाउनु पनि थियो
बेस्यहार परेका झैँ अनौठा प्रश्नहरू
उभिएका पनि हुन् – सिङ्गो आकृति भएर ।
एक्लोपनको इतिहास पनि त्यस्तै छ
इतिहास पढ्नु – त्यसैले सानो सुख हो –
कतै आफै अभिभावक आफ्नै शत्रु भनेको सुनिन्छ भने
म त्यहाँ रेशमी स्वप्नहरू झैँ सामेल छु
डबलीमा देखाइएका नाटकहरूमा म खोज्दछु, मेरो आफ्नो पात्रता
कहाँ के अभिनय भइरहेछ
कतिवटा आँखाहरूले उसलाई छोइरहेछ
डबलीको नाट्य मञ्चमा – एउटा आँधी भएर उनले छोए भने पनि
म त्यहाँ उभिन्छु त्यसैले –
उभिनु सानो सुख हो –
कतै बहुलाहा त भएनन् यी झार झङ्खार र हरियालीहरू
यी अनौठा परिवेशहरू
कतै उन्मत्त भएनन् यी पालुवा र डाँठ अनि इँटहरू
मैले सुख खोज्दा खोज्दै श्रमको पसिनामा
आकाश र आकाशका भुवाहरूमा
इतिहास त्यही हो मैले खोज्ने गरेको,
के भयो र म त्यस घरमा पनि छु
जसले मलाई विस्तारै सुम्सुम्याउन खोज्छ
म त्यसैले आँधी बहुलाउँछु ।
पतवार नपाएको ढुङ्गाजस्तो बग्छु
किनार फेरि किनार र किनारमा ठोकिन्छु
किनारलाई कुनै प्रभाव हुँदैन – तैपनि ठोकिन्छु
किनारले केही बोध गर्दैन – तैपनि ठोकिन्छु
जीउभरि आघात पाउन्जेल ठोकिरहनुको एउटा इतिहास छ भने
म त्यो इतिहास हुँ
र शायद इतिहास हुनु पनि सानो सुख हो ।