१
ब्रह्माजीले खूद रचेकी उजडिन लाग्दा सब संसार
जड चेतनका अन्तस्तलमा मच्चिन लाग्दा हाहाकार
सान्त्वना दिनको लक्ष्य लिईकन स्वयं भईकन करुणागार
शान्त र सुमधुर रसमय उज्ज्वल रच्ने साहित्यिक संसार ।
२
विवश भईकन दुर्लभ मानव जीवन मणिकन पयाँक्न तयार
ती करुणाका पात्र बन्धुको बन्ने आफै पहरादार
जीवन-डुङ्गा ढल्पलिंदामा दुःखोदधिको बीचमहाँ
कर्णधार भइ वाङमय -बहना लिइ अघि सर्ने झट्ट उहाँ ।
३
लक्ष्य थियो कुन ? मार्ग थियो कुन ? यो सब तिमिराछन्न हुँदा
स्मृति अरुणोदय, परिचय किरणावली फिजार्ने मित्र जुदा
लेखक ! यस्ता विश्वबन्धु ह्वौ जगका जीवनका आधार
वैगुणगणले विश्व प्रिय छौ, पाएका छौ मान अपार ।
४
'विश्व-रचैया कुनियत गर्ला, काव्य-रचैया गर्दैन'
भन्ने ढुक्क छ चित्त जगत्को अनि विधिसँग पनि डर्दैन
सपनामा पनि निर्दय कपटी बन्न तिमी त सुहाउन्न
धोका पाउँछ बान्धव-जनले 'अय्या' भन्ने पाउन्न ।
५
तिम्रो सुमधुर वचन विरचन समाजको होस् जागति-गीत
मृगहरू विचरा जेलिनुपर्ने नबनोस् व्याधाको संगीत
'स्वार्थसिद्धिका निम्ति रचेको उर्णनाभिको यो जालो'
भन्ने कोही भाइ ननिस्कून्, तिम्रो यश नबनोस् कालो ।
६
लेख-जगत् विस्तीर्ण गराऊ काव्य-कलाले खुब सजी
होला भवमा भाव बिगारी नबन भयङ्कर लेखकजी !
भारती, २६६, मंसीर २००७