Last modified on 13 अगस्त 2024, at 21:01

सुखदुःख मिसिएको / सानु शर्मा

सुखदुःख मिसिएको विगत छ मेरो
जान्दिनँ म अब कस्तो आगत छ मेरो

भेट्न सक्छौ भने कतै नदुखेको ठाउँ
चोट दिन चाहनेलाई स्वागत छ मेरो

प्रेममा डुब्नलाई कसरी सम्भव होला
दुःख, पीडा, चोटहरूको पर्वत छ मेरो

जाल, झेल, फटाइँ गर्नु राम्रो हैन लाग्छ
ऊ चाहिँ भन्छ, यो बुझाइ गलत छ मेरो

घरीघरी बाटो थुनी नधमक्याऊ मलाई
आफ्नै बाटो बनाउने ल्याकत छ मेरो

मेरो मौनतालाई कमजोरी नठान, सानु !
तँलाई के थाहा केके गर्ने तागत छ मेरो