Last modified on 28 जुलाई 2020, at 15:44

सुनौला गल्ली / सुदीप पाख्रिन

कुन बाटो भएर पुग्न सकिन्छ
बालापनका सुनौला गल्लीहरु ?

मन्दिरसम्म पुग्ने बाटो ?
भो चाहिएन
मलाई रम्न देउ
चङगाझैँ चङ्गाकै पछिपछि दगुर्दै हिँड्ने त्यही चौबाटाहरुमा

कुन गल्ली भएर पुगिँदो हो
ती झ्यालिञ्चाजस्ता बाटाहरुसम्म ?

उडी मात्रै रहन्छन्—
सपनाका यी रङ्गीबिरङ्गी पुतलीहरु
जति लखेट्दा पनि नभेटिने गरि
कहिल्यै ठुलो हुन नसकेको
यो फूच्चे मनको अगाडि अगाडि भएर

कुन गोरेटोले पुर्याउँदो हो
बालक मनको ढोकैमा ?

हजुरआमाका कथाको सुगन्धित अगरबत्तीमा
हजुरबुवाको आशिर्वादको अलौकिक संसारमा
आमाको चुल्हाको पूजाकोठामा
बाको धापको स्वर्गमा
म गाउँथे प्रत्येक दिनजसो
भजनजस्तै मेरा गुनासा र घुर्कीहरु
पाउथे सबै-सबैबाट मुठ्ठीभरिभरि मेरो बालापन

फेरि कहिल्यै हिँड्न नपाइने
छुटेर गएका ती बाटाहरु
आइरहेछन् आँखै अगाडि
थ्रिडी सिनेमाको कुनै दृष्यझैँ
र, गिँज्याइरहेछ— कुरुप वर्तमानलाई ।