सुनौला घाम झुल्केन रूपौला जून चम्केन
मेरो सुनसान जीवनमा कुनै वसन्त फर्केन
कति रात छट्पटाएँ म अँध्यारोलाई बोकेर
मेरो जून जग्मगाएन जूनेली हाँसो पोखेर
दियोको बत्ती सल्केन नयनको ज्योति झल्केन
मेरो सुनसान जीवनमा कुनै वसन्त फर्केन
कति फूल फुल्न खोजेथे मुटुको फूलबारीमा
खुशीले बस्न खोजेथ्यो मायाको त्यो छहारीमा
वसन्ती वास आएन रसिलो रङ्ग छाएन
मेरो सुनसान जीवनमा कुनै वसन्त फर्केन