यस सृष्टिको पहिलो गीत
तिमीले गाए कति सुन्दर हुँदो हो
तिम्रो हार्दिकताको बिहानी स्पर्श
त्यस गीतको सङ्गीत बने
सृष्टिको यो अनन्त धून
कति स्निग्ध
र
कति प्रिय हुँदो हो !
आह ! कविताकी वाणी !
तिम्रो ओठसँगै चल्ने
यो मधुर बतासमा
जीवनकै सर्वाधिक आत्मीय श्वाससँग छु ।
यो हरियो धर्ती,
त्यो निलिम आकाशबिच
तिम्रो गुरुत्वले तानिएकी म
सधैँ सधैँ तिम्रो आँखामा
कविताका जीवन पङ्क्तिहरू पढ्छु
तिमीसँग अनन्त वर्ण छन् कविताका
तिमी स्वयं ध्वनि
र स्वयं प्रतिध्वनि !
प्रिय सृजामाता !
म तिम्रा कवितामा
मानिसका सपनाहरू सुन्छु
समयका पानाहरू पल्टाउने
तिमीसँग छन् बतास झैँ वेगवान् औँलाहरू
तिनै स्पर्शहरूले गाँसेको इतिहासमा
असीम, उन्नत र अविराम यात्री युग हिँडिरहेछ
तिम्रा अनुभूतिले सजाएको
यो विपुल सौन्दर्यको आभास
मेरो समयलाई सुध्याउन
जौ, तील र कुशभन्दा
ज्यादा शक्तिशाली लाग्छ मलाई
ए, सृष्टिकी महान् गीत !
गुन्गुनाएर लहरहरूसँगै
यो समयलाई गोदान गर
यही समयको मध्यान्तरमा म
पुनः एकपटक
तिम्रो कविताको अभिषेकले
जीवन्त भिज्न चाहन्छु !