तिमी सेतीको गीत
म फेवाको कविता
तिमी बग्छौ
र स्वच्छ छौ
म जम्छु
र दुषित ।
तिमीसँग लक्ष्य छ
लय छ,
सुर र स्वर सबै छ
तिमी ढुङ्गालाई पखालेर
देवता बनाउन सक्छौ
तिमी पहरालाई छेडेर
स्वर्ग बनाउन सक्छौ
मसँग धैर्य छ
केवल पर्खाइ छ
गति र प्रगति केही छैन
आफ्नै किनारहरूसँग जेलिएर
घुमिरहन्छु पुथ्वीजस्तो
आफ्नै अक्षको वरिपरि
पुर्छु खाडलहरू
बनाउँछु आउने-जानेलाई सतह
तर आफू कहिल्यै पाउँदिन बाटो
तिम्रो आवेग छ
सधैँ सुकिला छौ
मेरो सघनतामा हरियाली देख्छन् अरू
मभित्रको चिहान
कति उराठलाग्दो छ
त्यो कसले देख्नु !
तिमी सेतीको गीत
म फेवाको कविता
सोधेजस्तै लाग्छ कुनै दिन
अप्रत्यासित-
'प्रिय ! कतिञ्जेल बस्छ्यौ यी फोहरहरू समेटेर ?'
जवाफ पर्खिएनछौ तिमीले
भन्न चाहन्थेँ म-
'भत्काएर यी चौघेराहरू
तिमीसँगै बग्न चाहन्छु
चाहन्छौ मिसिएर
चाहँदैनौ समानान्तर भएर !'