कुद्ने हतारमा बहिरो बन्यो ।
हतारमा घाँस खाई
हतारमै सास फेरी
हतारमै दौडिन्छ युद्धमैदानतिर ।
हतारमै सुन्छ लगामको इसारा
तर सुन्दैन आफ्नै गलामा बजेको घण्टी
थाहा पाउँदैन आफ्नै बैँसले सुसेलेको ।
योद्धा बोकेर जङ्गलैजङ्गल दौडिँदा
चिनेन पिठ्यूँमा बोकेको आनै मृत सइस
बिर्सियो आफ्ना सन्तान र दरसन्तान
एकचोटि पनि सम्झेन यसले
मालिकले चाबुक हान्दाको रनाहामा झरेको आँसुको ढिक्का ।
खसाएर घाँटीको खिन्द्रिङखिन्द्रिङ
दौडियो आफ्नै छाया कुल्चँदै ।
घोडाले खसाई गएको यही छायाबाट उम्रिएर
यसका टापमा आफूलाई खसाल्दै
कुद्न थालेँ म जङ्गलैजङ्गल ।
दौडिँदा–दौडिँदा आफैँलाई लछारेर कहाँ–कहाँ पुगेँछु ।
जीवनको निर्जन टाकुरामा पुगेपछि
यस सेतो घोडाले
भुइँचालो उचालेर हल्लायो पिठ्यूँ
भुइँमा लतारिदियो मेरो तागत
र, मलाई हेर्दैहेर्दै गयो कहिल्यै नफर्किने गरी ।
मभित्रको घोडा मबाट निस्किएपछि
उभिन खोजेँ, थिएनन् मेरा खुट्टा
हेर्न खोजेँ, थिएनन् मेरा आँखा
थिएन, मेरो मुटुको गान
थिएन, कलकलाउँदो जोवनको राग ।
थाहा पाएँ
घोडाले झैँ मैले पनि छोडेँछु आफूलाई ।
घोडालाई बोकाउँदा बोकाउँदै
आफू पनि घोडै भइएछ
घोडाले छोडेको मिराजपछिपछि कुद्दाकुद्दै
आफ्नै प्राण भुलेर हिँडिएछ
जाँगर, बैँसको तुजुक, चेतनामा लगाम लगाएर
अहो ! बेहोसीमै पो बित्दो रहेछ जीवन ।
यतिसम्म पनि भुलिएछ कि
शरीरभित्र दौडने घोडा विलोप भयो भने
मान्छे त मान्छे नहुँदो रहेछ ।