Last modified on 14 अगस्त 2024, at 23:38

सोह्रै आना बनाइदेऊ / सानु शर्मा

तिम्रा आँखाको चालमा
तिम्रो श्वासको आभासमा
बुझ्दछु म
तिम्रो मनमा लुकेका
तिम्रा रहरमा सलबलाएका
पन्ध्र आना कुरा ।

आफ्नो अनुकूल नभए पनि
पटक्कै चित्त नबुझे पनि
तिम्रा चाहनालाई अनुभूत गरेर
उज्यालो देखाइदिन्छु म
तिम्रो सहजताका लागि ।

अब, तिमी आफैँ बुझिदेऊ
बाँकी रहेका एक आना कुरा

सोह्रै आना बनाइदेऊ
तिम्रो र मेरो यो साइनोलाई !
जहाँ अनन्त शून्यावस्थाको
सम्पूर्णता अनुभूत हुन सकोस् !
००००