Last modified on 7 सितम्बर 2024, at 14:46

स्वतन्त्रता / दीपक शम्चू

पुर्खाले रचेको विरासत भुलेर
स्वतन्त्रताको निम्ति
परास्त गरी आदिम स्वतन्त्रता
गाउँदै आइरहेका रहेछौँ
विरही सारङ्गीको धुनसँगै
बन्धनले जेलिएको उन्मुक्ति गीत ।

हरेक पटक
स्वतन्त्रताको युद्ध जितेर स्वाधीनता गुमायौँ
आदिम सभ्यताको धरातल छोडेर सुन्दरता हरायौँ
र मालिक भएको ठान्यौ ।

यस्तो उद्विग्न समयमा
विजयी इन्कलाबसँगै
चौघेराभित्र थुनिएर मनाइरहेका छौँ
स्वतन्त्रता उत्सव ।

०००