पग्लिरहेको छ मातृत्वको आकाश
तप्किरहेको छ न्यानोपनको अमिताभ अनुभूति
चिसा चिसा हिउँदहरूझैँ
बितेका कैयन् दिनहरू छन् सम्झनामा ।
लाग्दैछ-
यत्तिसम्म चिसिएको भए त
बिहानले कसरी जन्माउँथ्यो होला सूर्योदय!
घाम बोक्ने न्यानो आकाश हुँ,
फरक छु आफ्नै चिसा अतीतहरूबाट
छुट्टिएकी छु आफैभित्रका कठोरताहरूसँग
धागोबाट चियाइरहेछन् सपनाहरू
सपनाका घरहरू छन् मसँग
घरको बलियो विश्वास भएकी छु,
र, विश्वासको व्यग्र स्वप्न तिमी
तिमीसँगै ब्यूँझनका निम्ति
जागै छन् स्वप्निल रातहरू
र नौला कल्पनाहरू जागै छन् !
भोक रहेछ तृप्ति भन्नु
सृष्टिका अभिलाषाहरूमा
तिम्रो आगमन पर्खिरहेको छ यो समय!
तिमीलाई अँगाल्न आतुर प्रतीक्षाजस्तो सुन्दर
तृप्तिको अर्को
कुन क्षणको पर्खाइ हुन्छ र !
•