सूर्य छाया सुस्तरी
वसुधामाथि
फैलेको बेला
जल्दै छन् दीया, गृहद्वारमा
दीपान्तिता साज
मलय-सिहरन
पसेछ भित्र
दक्षिण वातायनबाट ;
बसेकी थिई यी ऊ
अभ्यर्थना हेतु
कुन अनागतको
आगमन
हुनेछ भनेर-
उथलपुथल हृदयसित,
प्रसाधनले सजिएर
कोठाको भुइँमा
पङ्ख-आसन ओच्छयाई सहर्ष
माल्य-गन्ध-धूप-चन्दन सह
सोचेकी थिई उसले
अतिथिको आगमन भए
कण्ठमा लगाएर माल्य सावधान
दीप-धूपले आरती गरेर
चन्दन-तिलक लगाइदिने, उन्नत भाल ।
दिवा-अवसाद
सान्धय सैकतबाट,
दलेर बिसाउन थाले
अडेस लगाई विभाको देह
निद्रा आएर अति सन्तर्पित
हातले सुमसुम्याई ममतासित
नारीसुलभ उसको कोमल अङ्ग
बसिरही, निःशब्द स्वरले गाई
सुताउने गीत ।
त्यसपछि,
जीवनका निशाबाट
आँखा मिची जागेर उठी
भेट्टायो जब आफैलाई छामी
वरमाला उसैको गलामा
उसैको छातीमा रहेको ऊद्द्डिई
चन्दन-लेपन उसकै ललाटभरि
सिन्दूर शिर बन्धनी उसैको शिर
राखी गयो कसैले
अदृष्ट बन्धनले
गरेर बन्दी-
ऊ रही ढोका हेरी बसी
आश्चर्य-पुलकले पुलकित भई ।
दीयाहरु दैलोमा गएछन् निभी
अभ्यर्गनाका उपादान सब
लगिदियो कसको, प्रेममय हातले-
गन्ध-धूप सब जलेर सकेछन्
मात्र त्यसका सुवास-शेष
प्।रकोष्ठभित्र अनि वरिपरि शून्यतामा
त्यही अनागतका,
अजान आगमनका
उपस्थिति बोकेर
उडाउँदै सुगन्धित बतासले,
ऊ भएर तृप्त
गएछ फर्केर
-आनन्दले ।
त्यसपछि, अनि तब
बिहानी उज्यालो, आएर स्नेहले
मृदुल आच्छादन सह
बेरेर उसलाई
उभिइरह्यो त्यहाँ, मुसुमुसु हाँसेर ।