Last modified on 31 मई 2020, at 11:15

स्वाभिमान / धुस्वाँ साय्‌मी

मेरो
कातर भैसकेको विवशतामा
करुणालाई जोडेर
तिमीले मेरो आवाज माग्यौ,
मैले बुझेर पनि
मेरा सम्पूर्ण स्वरहरू
तिमीमा समर्पित गरिदिएँ,
फेरि
त्यसपछि
मेरा हात चाह्यौ तिमीले,
मैले विना अवरोध
यिनलाई भाँचेर तिमीलाई थमाइदिएँ,
तर
तिमीलाई यसमा पनि सन्तोष भएन,
किनकि, तिमी चाहन्थ्यौ-
मेरो नियोजित मस्तिष्क/ विस्थापित हृदय
र, नियन्त्रित विचार/ खण्डित भावना
जसलाई चाहेर पनि
तिमीलाई त के
अरु कसैलाई पनि दिन सक्तिन
मलाई
तिमी जस्ताको प्रतिनिधि बन्नु छैन ।