जति नै बनाउँदै गए पनि
जत्ति नै मिलाइरहे पनि
लागिरहन्छ नमिलेजस्तो कताकता
लाग्दैन कहिल्यै आफू पूर्ण भएजस्तो ।
नउतारुन्जेल तस्वीरमा
नदेखुन्जेल आफ्नो आकृति
लाग्यो होला कयौँपल्ट
संसारभरिको सुन्दरता नै मै हूँ !
कहिले त आफ्नो तस्वीरसँग पनि विश्वास भएन होला
चित्रकारसँगै पनि भयो होला गुनासो
प्रकाशसँग,
रङसँग,
परिवेशसँग
र, दृष्टिहरूसँग समेत लाग्यो होला शङ्का
तर भन्न सकिन्न वितृष्णा लाग्यो वा लागेन आफूसँग कुनै क्षण।
कुनै तवरले हेर्न सकियो भने आफूलाई
छुन सकियो भने अन्त:स्थको महाअन्धकार
भेटिएला कतै,
आफूले पनि कहिल्यै नभेटेको आफूलाई !