Last modified on 18 दिसम्बर 2020, at 10:11

हजारौँ नदीहरू / सिद्धलिङ्गलाह / सुमन पोखरेल

तर हिजो
हिमालजसरी आए तिनीहरू,
मेरा मान्छेहरू।
तिनीहरू झुण्ड बनाएर आए
मेरा मान्छेहरू,
हिजो!

बल्दै गरेका चाँदीझैँ
क्रोधले राता भएका आँखा टाँसेका काला अनुहारहरू
विष्फोट भएर निस्किए निद्राको सिरकबाट
रातको घेरालाई भत्काउँदै ।

मेरा मान्छेहरूको पहाड भएर चुलियो
र हल्लियो तिनको क्रोधको नाचसँगै पृथ्वी।
जङ्गली जनावरका पञ्जा भएर फैलिए
कमिलाको लहरझैँ सलबलाउनेहरू
र गोमनको फँडा भएर उठे
सर्पजसरी घिस्रिनेहरू।

उठे तिनीहरू, मेरा मान्छेहरू,
पहाडमा,
रातो गीत गर्जिँदै,
झार झार, तल झार असमानतालाई
झार जातीय ओहदालाई
तल झार पैसामा मोटाउने कीरालाई,

ओहो, उर्लिए र नदीझैँ बगे तिनीहरू,
मेरा मान्छेहरू,
हिजो!
छपक्कै डुबाए तिनीहरूले शहर र गाउँलाई
फाल हाने अज्ञात जराको गहिराइसम्म
र फैलिए नदेखिएका ताराको उचाइसम्म।

हेर, बुट्यानछेउ, रुखमुनि
सडकमा र गल्लीहरूमा
कसरी थुप्रिए जथ्था भएर तिनीहरू,
मेरा मान्छेहरू।
मुखियाहरूको शक्तिको तहलाई पखालेर तल झार्दै
र लखेट्दै साहु भनिने झिँगाहरूलाई।

प्रतिकारका यी चिच्याहटहरू
बन्द भयो तिनीहरूको बोली
क्रोधित गलाबाट निस्किएका ती चट्याङहरू
त्यो स्तब्धता
ओहो, हेभोलुसियोका बतासहरू।
बन्द गराइदिए ती गला छिनाउनेहरूका गला
मेरा मान्छेहरूले।

हेर, कसरी घुम्दैछन् भुमरीमा
पुलिसका लठ्ठी
र जासुसका चक्कुहरू
हेर, कसरी भुमरी पर्दैछ
हाँगा र सुकेका पातझैँ
वेद र पुराण र शास्त्रहरूको भग्नावशेष,

हेर, कसरी घुमाइरहेछ क्रान्तिको भुमरीलाई
गोलाबारुदको धूलो र बन्दुकधारीको फलामले!
ओहो, मेरा मान्छेहरू,
हजारौँ नदी भएर ओर्लिए
र उर्लिँदा छाल भए क्रान्तिको महासागरका ।