Last modified on 20 अगस्त 2016, at 22:14

हर्कबहादुर / दिनेश अधिकारी

उसलाई धेरै नामहरुबाट चिन्न सकिन्छ
ऊ दाउरे पनि हो
ऊ चाउरे पनि हो
ऊ काले पनि हो
अरुहरुबाट आफ्नो सक्कली नाम सुन्न
व्यक्ति, जसले बाबुको सराद्धे पर्खनुपर्छ
ऊ हर्कबहादुर हो
 
हर्कबहादुर कुनै अर्जुनभन्दा कम पौरखी छैन
बिहान झसमिसेमै गोरु नारेर ऊ
कहिले बाँझो मार्न जान्छ
कहिले कोदाली बोकेर
आली ताछ्न र बाउसे गर्न भ्याउँछ
ऊ सफल दूरदर्शी पनि हो
उसलाई थाहा छ
लुगा फाट्छ, छाला फाट्दैन
छाला, साहू काढेर किन्न पनि पाइन्न
ऊ नाङ्गो आङले भारी बोक्छ
ऊ नाङ्गो आङले धर्ती जोत्छ
हो, गाउँका सभा-समारोहमा जाँदा
हर्कबहादुर -
टीठलाग्दा आँखाले
घरी झण्डा र घरी आफ्नो आङ हेर्छ
घरी आफ्ना आङ र घरी झण्डा हेर्छ
सायद हर्कबहादुर
छातीभित्र अट्टहास पनि हाँस्छ
सायद हर्कबहादुर
मनहरुमा कोलम्बस पनि बाँच्छ-
कि, मान्छेको प्रयोगमा आउनुभन्दा पर
वस्तुको अर्को ठूलो उपयोगिता छैन भने
बटुलेर संसारभरिका झण्डाहरु
लुगा सिउँदा
हरेक नाङ्गोलाई भाग पुग्छ
- हरेकलाई कछाड पुग्छ
- हरेकलाई मजेत्रो पुग्छ
झण्डा - मान्छेको परिचय होइन
मान्छे स्वयंमा परिचित इतिहास हुन्छ
मान्छे स्वयंमा परिलक्षित आकाश हुन्छ
 
हर्कबहादुरलाई आफू बाँचेको युग थाहा छैन
गते,
बार
महिना,
ऋतु,
वर्ष
र तिथि पनि थाहा छैन
समय, सायद आफ्नो पुच्छर आफैँले निल्ने सर्पले भोग्छ
समय, सायद हातहतियार छाद्ने कल-कारखानाले भोग्छ
योजनाले भोग्छ
साइरनले भोग्छ
हर्कबहादुरले आजसम्म समय भोगेको छैन
हर्कबहादुरले अझैसम्म समय मागेको छैन
समयको नाममा
भोग्दा-
उसले महिषासुर झापडहरु भोगेको छ
माग्दा-
उसले अन्नका दानाहरु मागेको छ
कपासका गाँठ र बारीका पाटाहरु मागेको छ
एउटाएउटा बन्दुक बोक्ने हातलाई
एउटाएउटा कोदाली दिनुपर्छ
हर्कबहादुरले सधैँ कोदाली मागेको छ
 
हर्कबहादुर भोक हो
भोकको देश र भेष पनि हुँदैन
भोकको आफन्त र पराई पनि हुँदैन
हर्कबहादुर ठेस हो
पीडा आकारमा आबद्ध हुँदैन
पीडाको साँध-सिमाना र घरबार पनि हुँदैन
म साँच्चै भन्छु-
भोक यदि देश हो भने
हर्कबहादुरभन्दा सुकिलो अर्को देश हुनै सक्तैन
शोक यदि देश हो भने
हर्कबहादुरभन्दा ठूलो अर्को देश हुनै सक्तैन
 
राष्टि्रयता ! राष्टि्रयता ! ! राष्ट्रीयता ! ! !
स्वाधीनता ! स्वाधीनता ! ! स्वाधीनता ! ! !
नागरिकता ! नागरिकता ! ! नागरिकता ! ! !
परार उसकी सातवर्षे छोरी
सर्पले टोकेर अकाल मर्दा
खै ! राष्टि्रयता औषधीमा अनुवाद हुन सकेको?
पोहोर अनिकालबाट बँच्न
छोरो मुगलान भासिँदा
खै ! स्वाधीनताले 'नजा' भन्न सकेको?
यसैपालि -
बाढीले गाउँ बगाउँदा
खै ! नागरिकता घर भएर ठडिन सकेको?
लैजाऊ !
सट्टामा केही दिनु पर्दैन
राष्टि्रयता विज्ञप्त छ
स्वाधीनता विज्ञप्त छ
नागरिकता विज्ञप्त छ
हर्कबहादुरको सन्दर्भमा
यी सबैको प्रयोजन
सिउनीमा अल्झेको सुर्तीको धूलोभन्दा बढी छैन
सिउनी टकटक्याएर त-
हर्कबहादुर
एक सर्को फूक्न बिँडी पनि बेर्न सक्तैन
 
भनेँ नि-
हर्कबहादुरको देश छैन
हर्कबहादुर हरिऔनको बासिन्दा मात्र पनि होइन
ऊ तपाईंको गाउँमा/सहरमा/देशमा पनि भेटिन सक्छ
जितबहादुर पनि हर्कबहादुर हो
भीमप्रसाद पनि हर्कबहादुर हो
हर्कबहादुर एकलव्यको नयाँ संस्करण हो
सलाम !
खर्च नपाएर
आफैँमा तरुनी छोरीको बैँस र बूढी स्वास्नीको भोक काँपिरहेको
हर्कबहादुरलाई मेरी स्वास्नीको सिन्दूर-पोतेको सलाम !
सलाम !
दिमागमा छोराछोरीको लुगाफाटो
र छातीमा आफ्नै सहिद तस्विर टाँगिरहेको
हर्कबहादुरलाई मेरी आमाको काखको सलाम !!
सलाम !
मान्छे-करङको दतिउन
र हाडको चन्दन लेप नलगाएर
मन्दिर र मस्जिदभन्दा पनि पवित्र बाँचिरहेको
हर्कबहादुरलाई मेरो कविताको सलाम !!!