Last modified on 2 सितम्बर 2023, at 21:24

हाँगाहाँगा वनभरि चैत फुलेछ / हरिभक्त कटुवाल

हाँगाहाँगा वनभरी चैत फुलेछ
थाह नपाई मनभित्र बैँस फुलेछ।

कताकता कसैलाई भेटेभेटे झैँ
सङ्ग्लो पानी पिई तिर्खा मेटेमेटे झैँ
को हो को हो दुई आँखामा आई डुलेछ
थाह नपाई मनभित्र प्रीत फुलेछ।

एक जोडी आँखा सधैँ हाँसूँ हाँसूँ झैँ
एउटा माला फूल टिपी गाँसूँ गाँसूँ झैँ
कसोकसो बिहानीको निद खुलेछ
थाह नपाई मनभित्र प्रीत फुलेछ।