बामे सर्दासर्दै घोप्टे कति कति टुकुटुकु हिंड्दा लोटें,
लम्की हिंड्दा चिप्ले कति कति कुद्दा ठक्कर खाई पल्टें,
भगवन्,
फैलेका दुइ हाथ थापी सतत मलाई बचायौ,
फुकी फुकी टुटिलो सहज बसायौ,
रक्त पुछीकन घाउ सुकायौ,
गण्ड, ललाट, कपाल मुसारी
अश्रु-मुहान पनि सुख्खा पार्यौ !
मेरा भगवन् !
पल्टनबाजी खाई तल्तिर माथिबाट गिरे कति चोटि,
ढुन्मुनिदै घुस्मुन्टी भुईमा जोतिएं जाक्किएँ ठाडै कतिचोटि,
छाती ताक्त मित्रहरूको मुड्की बर्से शत्रु बनी,
शत्रुहरूका मित्रवचन ती पाए च्यातू हृदय मनी,
भगवन् !
जहिले हेर्छ दुइ हात थापी नित्य खडा छौ फेरि तिमी;
तिनमा अलिकति फलफूल राख्छु,
हातको पात सबै ती सुक्छन्,
हात नअटाईकन तिमी बस्छौ
हेर्दा मेरा इन्द्रिय थाक्छन्
उम्छु सुत्छु, आधारातमा
झस्की तड्पी बिउँझी हेर्छ-
भगवन्,
उसरी नै दुइ हात थापी फेरि खडा छौ नित्य तिमी,
मेरा भगवन् !
रोगका लाखौं कीटाणु,
कालकूटका कति परमाणु,
प्राण भनेर लिएँ कति भगवन्,
अमृत सम्झी पिएँ कति भगवन्,
तिमीले
दुइ हात थाप्यौ, हतकेलामा
अमृत रह्यो, अनि अङगुलका
अन्तरबाट सबै विष झारी
केवल अमृत पिलायौ,
यस कारण भगवन्,
डर छैन मलाई मेरो निम्ति, तिम्रा हात वर छन् जबसम्मन्
तर ती हात कुनै दिन गल्लान् भनी व्यर्थ डराउँछ कातर मन,
भगवन् !
शारदा, ११.१-२, वैशाख-ज्येष्ठ २००२