Last modified on 6 जुलाई 2017, at 09:46

हात काटिएपछि / ज्योति जङ्गल


हात काटिएपछि
यो परदेशमा
यी रगतका थोपासँग भन्दा
तिम्रै आँसुसग ज्यादा खसेंछु,
दर्दको बेहोशीमा
तिम्रै पीडासग बहकिएछु।
 
आमा !
मेरो श्रमको ठेला
कहिल्यै नउठ्नेगरी
त्यहि हातसगै झर्यो
अब पसिना पनि
झार्न नसक्ने भएको छु।
आफू जन्मेको भुगोलमा
गधा जसरी खट्न राजी हुँदाहुँदै
मेरो राज्यले निर्लज्ज
गरिबीको चलचित्रमा
पात्र मात्र बनाइरह्यो।
 
सधै हुर्काइरह्यो
निराशा र अध्यारोको हल्चल
र आत्मग्लानीको भारी बोकाएर
निर्यात गरिरह्यो
मजस्ता अभागी छोराहरु।
 
मेरो गाउको उकालो
र भारी बोक्न नसक्ने म,
बाटोमा झरेको खोला
र तर्न नसक्ने म
तिम्रो घर मेरो बन्धक
उर्तान नसक्ने म।
 
त्यहा आएर पनि के गरौं ?
यहा बाचेर पनि के गरौं ?
 
मेरी आमा !
म नआउने भए भने
मेरो लाश पनि चिन्दिन भन्दिनू।