Last modified on 5 अक्टूबर 2017, at 14:47

हामीलाई निर्धो नसम्झ / हरिभक्त कटुवाल


यो देशको माटोले भन्छ
यो देशको ढुङ्गाले भन्छ
हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खरेको छ ।

हाम्रा गोठाला दाज्यैले यहीँको वन र पाखामा
मनको बह पोखेमा छन् सालैजूको आखामा
हाम्री खेताल्नी दिदीले छातीको माया सिँचेर
यहीँको खेत रोपेकी छन् भोक र तिर्खा बिर्सेर ।

पहाड-पर्वत त्यही भन्छन्
खोला र नाला त्यही भन्छन्
हाम्रो पनि रातो रगत यहीँ खसेको छ ।
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ ।

हामीलाई निर्धो नसम्झ पहाड कहिल्यै झुक्दैन
छातीमा आँट-सागर कहिल्यै सुक्दैन
देशका लागि मरेको जून र घाम साक्षी छन्
हामीले के पो गरेनौँ, के गर्न अझ बाँकी छ ?

आकाश आज त्यही भन्छ
बतास आज त्यही भन्छ
हाम्रो पनि रातो रगत यहीँ बगेको छ
हाम्रो पनि तातो पसिना यहीँ खसेको छ ।