Last modified on 13 अगस्त 2024, at 21:01

हामीलाई भेटाएको / सानु शर्मा

हामीलाई भेटाएको सहरले हो कि
विधाताकै मर्जी र ठहरले हो कि

न भोक लाग्छ न निद्रा छ आँखामा
सधैँको सामिप्यको रहरले हो कि

निस्कन्न सागर पानीबाट बाहिर
कतै उसलाई बाँधेको बगरले हो कि

भिजेकै देख्छु मुस्कान पनि तिम्रो
लुकाएका आँसुको असरले हो कि

दिलभित्र कतै अनायसै दुख्यो
छेडेर उसको नजरले हो कि

धड्किरहेछ मुटु बेजोडले आज
तिमी भेट्न आउने खबरले हो कि

छोए झैँ लाग्छ सपनामा तिमीलाई
यी औँलाले हो या अधरले हो कि

अल्छि गर्दैछ जीवन मसँगै हिँड्न
थाकेर यहाँसम्मको सफरले हो कि

लाग्दैन आफ्नो अचेल ज़िन्दगी, सानु!
दुनियाँको जालझेलको जहरले हो कि