१.
आखिरी यो घर पनि त माटाकै न हो
भत्कन्छ एक दिन जगै नरहेर
यो प्राण पनि त हावाकै न हो
फुस्कन्छ एक दिन दमै नरहेर,
अनि यी हाम्रा दिनहरू जानेछन्
पानीमा नून बिलाएझैँ
अनि यी हाम्रा क्षणहरू जानेछन्
घाममा शीत बिलाएझैँ
तर,
यी हाम्रा अमर सपनाहरू रहनेछन्
ढुङ्गामा खोपेका अक्षर रहेझैँ
र हिमालमा हिउँ रहेझैँ।
२.
भोलिका सयौँ सपनाहरूलाई सँगालेर
म आजै आइदिनेछु
तिमी प्यासले नतड्प अब
म नै पानीपानी भइदिनेछु।