Last modified on 13 अगस्त 2024, at 21:01

हाम्रो मायाको / सानु शर्मा

हाम्रो मायाको अन्तिम परिणाम आएछ
तिम्रो भागमा ख्याति, मलाई बदनाम आएछ

मेरो पनि चलेछ चर्चा महफिलहरूमा
तिम्रा गजलमा मेरो पनि नाम आएछ

सुख किनेछौ तिमीले बेचेर मेरो नाम
खुशी लाग्यो, मेरो नाम तिम्रो काम आएछ

जीवनभरी सँगै रहने बाचा व्यर्थ भए
जब फाटो लिएर बीचमा दाम आएछ

सोचेथेँ, माया भए अरू केही चाहिँदैन
त्यही सोचले गर्दा यस्तो अन्जाम आएछ

भेटन आउने सोचिरहेथेँ आफँ आइपुग्यौ
यस्तो लाग्यो मेरो घरमै चारधाम आएछ

प्रीतको फूल रोप्दै थिएँ, चट्याङ खस्यो मनमा
हेर त, सानु! क्या काइदाको इनाम आएछ