हार लगाई हारहरूको हाँस्न चाहने मान्छे
संसारसित साइनो आङ्गनै गाँस्न चाहने मान्छे
एक छेउ जीवन छ अर्को छेउ बाँच्न चाहने मान्छे।
आश अधुरो बास अधुरो यहाँ धेरै मधुमास अधुरो
कोपिला नै झरिगएको कोही कतै विश्वास अधुरो
थाह नपाई हराए कतै कहाँ रात सितै सपनाहरू
खोजी हिँड्छन् यहाँ धेरैले बाँच्न पर्ने बहनाहरूको।
शेष भएको हेर जीवन यहाँ शुरु खोज्दा खोज्दै
ढुङ्गा बनेको मान्छे यहाँ गुराँस हेरे रोज्दा रोज्दै
आफैले नै पुछ्न पर्ने यो आँसु गहमै बल्झेको
कसले बुने आफू सिवाइ जीवन यो तहमा बल्झेको ।
आँगनमा मेरो कति घाम लागे होला
अँधेरो त टाढा कुना कहीँ भागे होला
छोराछोरी मनको टुक्रा अब जागे होला।
सोध्छु घरिघरि यहाँ त्यो आकाश खुल्यो कि
हाम्रो घर जाने बाटो लाली गुराँस फुल्यो कि
आमाका ती काख जस्तो आफन्तका आँखाले
लाग्छ कतै मेरो माया सधैँ सधैँ भुल्यो कि !
मेरो फोटो छातीभरि भिज्नु पर्यो होला
आनीभरि ढुङ्ग्री बेच्नु पर्यो होला
गाँठो पारी उसको मनलाई सङ्घारमा उभेर
हाँसी हाँसी कति आँसु पुछ्नु पर्यो होला।।