Last modified on 29 अप्रैल 2020, at 11:26

हिजो र आज / दैवज्ञराज न्यौपाने


१.
भरदिनको परिश्रमले थकाएको मानिस
रात्रिको सुनसानमा सुस्ताएको थियो,
उ भीषण सपनामा रुन्थ्यो
र सुन्दर सपनामा हाँसेको थियो,
यस्तैमा हिजोको दिन बित्यो,
रात बित्यो।

२.
अनि आजको बिहान हुन्छ,
यो दिन अर्कै हो,
यहाँ चिहानको परिहास होइन
जिउँदो उल्लास छ,
शक्तिको आलोकमा नवजीवनको सञ्चार छ,
तर गर्छौ र के? यो पनि त समय हो,
बिहानको खुसियाली मेटिनसक्तैमा दिन चढ्छ,
अनि पहाडबाट हुर्रिएको नदीको वेगझैँ
सन्ध्याको काखमा दिनको वेग अड्छ,
किन्तु प्यासीको प्यास मेटिन्न,
भोलिकै आशामा जीवनको अवसान हुन्छ,
यस्तै कयौं वर्ष र युगको अधिकारमा
केवल हिजो र आज हुन्छ ।