Last modified on 5 नवम्बर 2017, at 13:52

हेमन्ताभ / ओकिउयामा ग्वाइन


तब त्यो दिन, ह्मन्त आएको थियो
दिकदिगन्त
वन-प्रान्तर
लोकालय अनि अन्यत्र
तरु-गुलम-लतिका
अनि शुष्क पत्र
सबैमाथि

तिनले,… हेमचूर्ण छरिराखेको थियो ।
उत्तर-समीरण बहँदं जाँदै थियो
पक्व धान्यका सागर तर्दै
प्रभात सन्ध्याका मृदुल किरण
तित्तिरि तमाल ताल अनि
भ्राम्र, -शाल्मली-
शिरोपरि

वंसवन-शिखाका शिखामाथिमाथि
सुनौला लहर लहराउँदै थियो ।
हेमन्तका यी, स्वर्णाम विलास, देखेर
म आफ्नै आँखा
आफूप्रति फर्काएर
हेरिहेरें जब अन्यमनस्क

देख्न पाएँ यो के, -
म पनि मेरो, यो परिवेश
आएर पुगेको छु
मेरो जीवनको
उत्तर-आयन
जीवनतरुको पतझड शेष
तर, विना आडम्बर ।

बुझ्न पाएछु, -
मैले अरे जीवन-समरमा
काल-कवलले मार खाको छु ;
भीष्मजस्तो
म पनि अरे शरविद्ध
लडेर ढलेको छु
शरशय्यामाथि ;

तब त्यसो भए
हुनु के रहेछ
हेमन्तको यो स्वर्ण-वितरणमा
सुनौला आभाका लहरित लहरमाथि
हिल्लोल हिन्दोल हास्य उल्लास
यी जति आनन्द, उच्छ्वासबीच नै
मेरो जोवनको शेष अवधि !