(पूर्वार्द्ध)
है क्यालेन्डर-सुन्दरी,
जब भित्तामा तिमी मुस्कियौ
मेरो हृदय-महासागरमा महाप्रेमले
एटम-बमको गर्यो परीक्षण
जीवनभर बर्बाद हुने अब भएँ, भएँ, म !
हृदयकी मेरी देवी,
बस्दी हौली दूर बम्बई,
घुम्दी होली सुन्दरी,,
पद्मराग मणि रङ,,
नीलकमलको पत्ताजस्तो
तिम्रै मधुमय आँखाजस्तो लाम्चो सुन्दर कारमा !
ताजमहल होटेल त कहिले, जुहू समुद्री तट कहिले,
कहिले गुफाहरूमा एलिफेन्टा, शिवाजीपार्क त कहिले;
हैङ्गिङ गार्डेन, मलाबार हिल !
हे मनजस्ती चञ्चल,,
हे हिऊँजस्ती झलझल,,
हे सरिताजस्ती कलकल
हे लघुनौकाजस्ती ढलपल,
घाम चर्कदा तलाउजस्ती टलपल,
पेरिसको भदिराजस्ती झलमल !
हृदयको तिम्रो ईश्वर, म त बस्दछु दूर तानसेन,
अमरपार्क कहिले त टुडिखेल
कहिले श्रीनगर, कहिले हिमाल होटेल,
शीतलपाटी कहिले,
भईकन झगडाजस्तै खलबल
पोलिटिक्सझै छलबल,
पसिनाजस्तै खलखल अनि चुनावजस्तै हलचल !
सुमुखी,
यो क्यालेन्डरमा तिम्रो नामै छैन,
तिम्रै अभाग्य, मेरै अभाग्य ?
यो क्यालेन्डरमा तिम्रो ठेगाना पनि ता छैन,,
तिम्रै अभाग्य मेरै अभाग्य !
यो क्यालेन्डरमा केवल कम्पनी
यही कम्पनीमार्फत लेखू पत्र एउटा तिमीलाई,
जसले पायो उसले खोल्ला,,
सारा भन्डाफोड, मजा के होला !
(उत्तरार्द)
हे हावा विश्वप्राण,
पर उपकारी हे महान्,
पुरुष उदार,,
यो विरहीको सुन केही पुकार !
मेघदूत के पढ्यौ तिमीले कालिदासको ?
अजरामर भइरहेछ मेघ !
तिमी पनि बनिद्यौ मेरा दूत बम्बईसम्मन्
कमाऊ नाम अमर !
प्रिय मित्रवर्,, सुन,
मेरी रानी दूर बम्बई बस्छिन्
जसको नाम र घरको नम्बर सडकै मैले बिसें
(अन्दाज लगाऊ आफै-कति लामो हाम्रो वियोग रहेछ ! )
हे महान हावा
जाऊ केवल यिनको हेरी अनुहार,
ड्रेसमा ध्यान नदेऊ
त्यो ता घण्टा-घण्टामा बदलिन्छ
तथा
एक पटक पहिरेपछि ता त्यो बन्दछ रद्दी बेकार !
कुनै तरहले उनलाई भेटी प्रिय मित्र हावा,
कानमा सुटुक्क भनिदेऊ-
'तिम्रो प्रियतम बाँचेकै छ,
विरहले क्षीण हुँदैछ,
नोटको भाउ वढेकोले आउन सकेन,
पैसा नभएकोले टिकट किन्न सकेन,
अरुलाई पठाउन विश्वास गर्न सकेन !'
मुख्य कुरा उनलाई यो भनिदेऊ हे सुहृत्,
"अब नवस बम्बई;
सब लेह्य, चोस्य,,
सब खाद्य, पेय,
सब दृश्य जगत्,
सब स्पृश्य जगत,
सब शब्द-जगत,
सब सुरभि-जगत,
सबका सब बुद्धि, विचार, दिमाग
रेडियो-ऐक्टिव भइरहेछ, .
खतराको घण्टी बजिरहेछ
जीवनको मूल्य हुनाले धेरै
द्रुत काट टिकट नौतनवाको !"
................................................
छरिएका फूल-बाट २०१५ / रचनाकाल २०१३