यो आहत अभिमान लिएर
पस्न चाहन्नँ म
पृथ्वीको गर्भमा फेरि
यही बाँचेर
तिम्रो प्रत्येक निर्णयको औचित्यलाई
चुनौती दिनेछु
म तिम्रो तिरस्कार गर्छु ।
म शक्ति र सरस्वती थिएँ
म मेनका, उर्वशी भएँ
म कुन्ती र द्रौपदीमा पनि जन्मिएँ
तर तिमीले मलाई सीताकै रूपमा किन रोज्यौ ?
किनकि
म जानकी
पुरुषमापदण्डको उच्चस्तरीय कसौटीमा उत्तीर्ण
नारीको असहाय रूप
एउटा उत्कृष्ट बलिदान भइदिएँ ।
तर आज म मेरो अस्तित्व चाहन्छु
मलाई स्वीकार छैन अब
तिम्रो कुनै प्रश्न
कसैको कुनै आक्षेप ।
सम्बन्धको विश्वास
जनमतलाई सुम्पिँदा
हे मर्यादापुरुष ।
तिमी किन डराएनौ
नारीअस्तित्वको मर्यादा
यसरी अपमानित गर्दा ?
के तिमीलाई थाहा थिएन
तिम्रो अधिकारको सीमा ?
शङ्काको रेखा छुदा नै खतम हुनुपर्यो ।
फेरि मायाको यो नचाहिँदो मोहजाल किन ?
मेरो आत्मसम्मानलाई चाहिँदैन
तिम्रो कुनै संरक्षण अब
तिमी मेरो लायक नै थिएनौ
हे राम!
म तिम्रो त्याग गर्छ आज!