Last modified on 3 मई 2020, at 12:20

होस्टेमा हैंसे गरौँ / गीता त्रिपाठी

देशको माटो धूलो होइन टीका हो उठाऔँ
एकएक गर्दै सयहजार हात जुटाऔँ
होस्टेमा हैँसे गरौँ
श्रम र सीप छरौँ
 
धेरै कुल्च्यौँ पैतालामा अब उठाऔँ हातमा
धरतीको धूलो होइन टीका सजाऔँ माथमा
दुख्नुपर्छ छातीभित्र अब आफ्नो अपमान
जोगाउन जागौँ उठौँ नेपालीको शान
होस्टेमा हैँसे गरौँ
श्रम र सीप छरौँ
 
धेरै थिचोमिचो गर्‍यौँ आफ्नै दाजुभाइ मार्‍यौँ
आफ्नै हातले आफ्नै गाउँबस्ती सबै उजाड पार्‍यौँ
रोक्नुपर्छ रगतको होली खेल्ने बानी
कर्म गरे पसिनामा फुल्छ जिन्दगानी
होस्टेमा हैँसे गरौँ
श्रम र सीप छरौँ