Last modified on 21 अगस्त 2016, at 02:00

ईश्वर र मान्छे / दिनेश अधिकारी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 02:00, 21 अगस्त 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=दिनेश अधिकारी |अनुवादक= |संग्रह= }} {...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


मैले ईश्वरसँग सुन्दरता मागेँ
उसले
हिमाच्छादित पहाड
र, तिनका छातीबाट चिप्लेटी खेल्दै बगेका
अविरल झर्ना र खोला दियो
ढकमक्क हरियाली फुलेको पाखा
र, सिर्जनाको सारा स्रोत सुसाइरहेको
सिङ्गै धर्ती दियो
धर्तीसँगै
रङ्गीचङ्गी फूल
र, फूलमा मगमगाउँदो बास्ना दियो
ईश्वरले आफ्नो उदारता पस्कन छोडेन
मैले उसबाट
लोभलाग्दो यौवन
र, सन्तानको रुपमा आफ्नै अर्को जीवन पाएँ
मायामा नुहाएर
मायाकै घाम ताप्ने सौभाग्य पाएँ
हातखुट्टाहरु त मसँग मौजुद छँदै थिए
ईश्वरले
बाटोभरि उज्यालोको तूल ओछ्याएर
तिर्खा मेट्न पानी
र, भोक मार्न माटो दियो
 
 
जीवन
सुनाखरीजस्तै
रुख चढेर फुलिरहेथ्यो
 
बाँच्नका लागि
दिनहुँ हात जोत्नुपर्ने अवस्थाबाट
अनन्त मुक्तिको इच्छा भाक्दै
अर्को एक दिन
मैले फेरि ईश्वरसँग
विपुल ऐश्वर्यको माग राखेँ
बिनापरिश्रमको सम्पन्नता मागेँ
तर यो पटक
ऊ केही बोलेन
आतुर भएर
मैले नै जब उसको अनुहार हेरेँ
ईश्वर
मैंतिर फर्केर
क्वारक्वारती
मान्छे हुनुको मेरो अनुहार हेरिरहेको थियो !
ईश्वर
यो पटक
मैलाई हेरेर धुरुधुरु रोइरहेको थियो  !