वैशाखी पूर्णिमा – ई. २००४ / मनप्रसाद सुब्बा
घुम्लुङ्ग अन्धकार ओढेर बसेको यौटा अग्लो डाँडा थियो ।
त्यो अन्धकारको बाक्लो छायाँले आकासै धमिलो भएथ्यो ।
त्यसै मन्तिरको
साँघुरो खोँचमा
ठूलो साँझको गाढा रङ्गले लपेटिएर दिशाहीन उभिरहेथें म ।
लट्टा परेको केश झाँक्रो फिँजाएर समय मेरो वरिपरि निस्सासिँदो थियो
क्षणहरू छल गर्दै मेरो अघिपछि ओहोरदोहोर गर्दै थिए ।
त्यसपछि हेर्दाहेर्दै
आकासको त्यो धमिलोपन
बिस्तारै... सुस्तरी...
पुछिंदै पुछिंदै गयो
र त्यहाँ
एक एक गर्दै
केही परीहरू देखा परे
अनि शास्त्रीय नृत्य-मुद्रामा सल्बलाउन थाले
हलुका मीठो मुस्कानमा उज्यालिएका ती परीहरू
कुनै दिव्य स्वागतको तयारीमा थिए त्यसरी ।
अब
यौटा यौटा क्षण
यौटा यौटा घुङ्गुर-दाना बनेर
तिनीहरूका पाउजुमा बज्न लागेका थिए
अनि .. अनि ..
त्यो अँध्यारो डाँडाको टुप्पोमा
यौटा चहकिलो चम्किलो निधारको माथिल्लो भाग देखा पर्यो
सारा झिल्काझिल्की क्षणहरू त्यसैमा समाहित भइरहेका थिए
र त्यो निधारको आयतन बढ्दै गयो क्रमशः बढ्दै गयो ...
निधार पूरै निस्किसक्दा
आकास पूरै छ्याङ्ग भइसकेथ्यो
त्यसपछि देखा परे दुइ आँखा आधा खुलेका –
कस्तो उज्ज्वल ! तर कत्ति शितल !!
अनि दुइ प्रशान्त कानहरू जहाँ पस्दै सारा आवाजका नदीहरू
शान्त भइरहेका थिए
अब त्यो सुलुत्त नाक, चिल्ला गालाहरू
अनि ती शान्त जीवन्त ओँठहरू
त्यसपछि फेरि मोती जडिएको नाउ जस्तो
चम्किँदो त्यो चिउँडो
आह ! डाँडामाथि यस्तरी अब पूरै फक्रिसकेथ्यो
वैशाखी पूर्णिमाको त्यो बुद्ध-जून !