फिर्ता आएको छ सुनको आंैठी
रंगीन तस्बिर
र प्रेमले लेखेको अन्तिम पत्र,
हुलाकघर अघिल्तिर उभेर
हेर्छ युवक
शुन्य आँखाले – कागजका केही मैला पानाहरू
कत्ति छिट्टै पखालिएछ ओठको हस्ताक्षर
निधारको खाली डायरीबाट !
बाक्लिँदै जान्छ उदासीको रात अनायास
उसको अनुहारको पहाडमा
हराउँछन् – गोरेटोहरू हिँड्नुपर्ने
प्रेमका बिसाउनी
र खुसीका चौतारीहरू,
थिच्छ ढुंगाले सुनको औठी
टुक्रा–टुक्रा पार्छ कागज,
अनि हिँड्छ अनिर्दिष्ट अल्छिँदै
अल्छिँदै ऊ
ठेगाना नमिलेर फर्केको
कुनै चिठीजस्तो भएर ।