भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

मुङ्लिनमा हामीले सडकलाई कविता सुनायौँ / प्रोल्लास सिन्धुलीय

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:19, 24 नवम्बर 2016 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=प्रोल्लास सिन्धुलीय |अनुवादक= |सं...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

कालो प्लेटको भाडागाडीबाट
खुत्रुक्क झर्यौं सडकमा
अनुशासित ढङ्गले गोलबद्ध भयौँ
झोलाबाट झिक्यौं कविता
र पढ्न थाल्यौँ पालैपालो ।

मुङ्लिन हामीले बुझेभन्दा व्यस्त थियो
हतारको हाताभित्र कैद थियो परिवेश
सडक न हो
एउटा भद्र कुकुर आयो
चिनेजानेको झैँ गरी पुच्छर हल्लायो
सबैले उसलाई हेर्यौँ,
सबैलाई उसले हेर्यो
र हामीले कविता सुरु गर्दैगर्दा
ऊ कवितास्थलबाट बाहिरियो ।

विद्यार्थी छुट दिन किचकिच गर्ने बस
दौडिरह्यो सडकमा
बिहारी नम्बरप्लेटको लामो लहरी
घिस्रिरह्यो उसैगरी
झ्यालबाट मुन्टो निकालेर
हेर्दैहेर्दै गए तिनै राममाया र किस्ने घर्तीहरू
सडकमा कविता बगिरह्यो निरन्तर ।

सोडा मिसाएको बासी भात र
कीरा लागेको काउलीको कम्प्लेन गर्दै
होटलबाट निस्कियो एउटा बुज्रुग अनुहार
र कोचियो,
वीरगञ्ज–काठमाडौँको
टु बाई टु फोल्डिङ बसमा
कालो धूवाँ छाड्दै गरेको ट्याङ्करले
नजिकै आएर हर्न बजायो – ट्याँ, ट्याँ
हामी कविता सुनाउँदै रह्यौँ ।

कन्डक्टरले
टाँका मारेको पैसा पछाडि खल्तीतिर घुसार्यो
काठमाडौँको
कुनै चर्को रेस्टुरेन्टभन्दा चर्को
पैसा असुल्ने होटलवालासँग
हार्दिकतापूर्वक कमिसन असुलेपछि
सन्ते ड्राइभरले गाडी ब्याक गरायो
नारायणघाटको जैमाने दलालले
काटेको टिकटअनुसार सिट नमिलेर
कचकच गरिरहेको यात्रुले
बाँसको मुढामा चित्त बुझायो
धुस्रेफुस्रे खलासी मङ्गलेले
ढोकामा ढकढक ठोकेपछि
बुटवल–सुनौलीको गाडी
त्रिशूलीको किनारैकिनार दौडिन थाल्यो
हामीले त्यस दिनको अन्तिम कविता सुनायौँ ।

यस पटक
मुङ्लिनमा हामीले
सडकलाई कविता सुनायौँ
मुग्लिनमा
सडकमात्र यस्तो पात्र थियो
जसलाई हामीले
आफ्नो कविता सुनाउनुपर्ने थिएन ।

००
(सिर्जना अभियानबाट फर्किएपछि)