तल जीवनहरूले रहरहरूसँग खेलिरहेको देखिँदैन आकाशबाट
न त पाखाहरूको सहनशीलता भत्किएर खसेका
पैह्राहरूका घाउका गहिराइ देखिन्छन्।
बादल लागेको आकाशबाट
आँखासँगै टाँसिएको आकाश पनि देखिँदैन
तलतल नै दौडिन्छ, बतास पनि देखिँदैन।
न त आँधी बोकेर थर्थराएका रुखहरूको मनको कम्पन देखिन्छ।
आकाशबाट
कोमल हँदाहुँदा मरेपछि
बाँच्नको लागि कठोर भएका ढुङ्गाको मन छाम्न सकिँदैन,
पालैपालो ताप र तुसाराको चुटाइ खाएर पनि मुस्काइरहेका
फूलको कोमलता छुन भेटिँदैन,
बसौँसम्म निरन्तर थिचिएपछि जुर्मुराएको भूकम्पको शक्ति नाप्न सकिँदैन,
गन्तव्य नपुगी नरोकिने अठोटले दौडिएका वेगहरूको सामर्थ्य आँक्न सकिँदैन,
चौतारी छेउ एकअर्काका मनमा निदाइरहेका प्रेमीहरूको सपना देख्न सकिँदैन।
बस्तीका बस्ती इतिहासहरू बगाउँदै दौडिरहेको नदी पनि स्थिर देखिन्छ आकाशबाट।
डाँडाहरूका सिर्जनशील काखहरू प्रभावहीन देखिन्छन् ।
मैदानमा लहलहाइरहेका सृष्टिका कोपिला र फूलहरू सुवासविहीन लाग्छन्।
कुनै आँटले कहिल्यै उक्लिन नसकेको हिमाल पनि होचो देखिन्छ।
मान्छेले आस्थाका बुट्टा कुँदेर उकासेको धरहरा पनि पुड्को देखिन्छ।
एक छिन त यस्तो पनि लाग्छ,
आकाशबाट हेर्दा
धर्तीका कुनाकुनाका संवेदन छाम्न सकिन्छ
हावा र विचारहरूको रङ्ग पनि देख्न सकिन्छ।
र सयौँ क्षितिजपारिसम्म
सम्पूर्ण सृष्टि नै सनातनदेखिको शान्त देखिन्छ।
सँधै आकाशबाट मात्र बोल्नेहरूलार्इ सोधौँ न, एकपटक
के संसारको वास्तविकता
साँच्चै आकाशबाट देखिएजस्तै नै छ त?