रात कुल्चेर हिँड्दै छु / विनोद अश्रुमाली
{KKGlobal}}
रातलाई आँखामा निचोरेर हरेक रात
एक–एक थोपा चाट्छु,
सुत्नेहरूहो, सुत
हजारौँ सपनाका मालिक तिमीहरू ।
रात भनेर म पनि सुतेँ भने
आकाशका जम्मैघाम–जून–ताराहरू
मसँगसँगै सुत्नेछन्,
मेरो सुन्दर, शान्त र विशाल मौन
नदीको पानी भएर बग्नेछ,
मैले थाहा नपाई
मेरो कोठाको मनिप्लान्ट
एक सुत बढ्नेछ,
फूलहरूमा रङ्ग र सुगन्ध चढ्नेछ ।
म सृजनाको हरेक पल
जिन्दगीबाट उम्काउन चाहन्नँ,
त्यसैले रातलाई पनि
मेरा दिनहरूलाई जस्तै
घाँटीमा अँठ्याएर लछारपछार पार्छु
चोक्टा–लाम्टा छर्छु
रात मानेर सुत्नेहरू हो, सुत
हजारौँ बिपनाका सालिक तिमीहरू ।
मेरा आमाहरू
लिलाम चढिसकेका छन्
म अब निश्चिन्त छु
स्वतन्त्र छु
म कुनै निद्राको कैदमा छैन
सपनाहरूको कैदमा पनि छैन ।
अब मेरो कुनै बिहान छैन
कुनै साँझ पनि छैन
मध्याह्रनको रापिलो घाम
पिठ्यूँमा बोकेर बाँचेको छु
मलाई कुनै डर छैन ।
रात कुल्चेर हिँड्दै छु
पाइताला रगताम्मे छन्
पद चिह्रन छोड्दै छु
होस गर सुत्नेहरूहो,
हजारौँ सपनाका मालिक तिमीहरू ।
हजारौँ बिपनाका सालिक तिमीहरू ।।