आफ्नै विचारका बीच 
संसार प्रवेश गरेको मैले 
मेरो लेखकलाई
धेरै सम्मानका साथ रक्षा गर्न चाहेको छु 
कसैले बेचेका सपनाका एम्बुसहरू 
यथावत् छन्
कसैले मेरो रातमाथि बम 
र उज्यालोमाथि
भीषण सुनामी युद्धहरू खसालेका 
यथावत् छन्
ममाथि आगो खसालेको दृश्य 
मैले आफ्नै आँखाअगाडि 
हेर्नुपरेको सत्य हो 
सत्यलाई छल गरी
कसैले मलाई आफ्नो अनुहार देखाएको 
र टाढा पुगेपछि
दृश्यबाट आफ्नो अनुहार हटाएको 
धेरै चोटि देख्नुपरे पनि 
डराएको छैन
बल गर्नेको हातमा बन्दुक
र छल गर्नेको हातमा संसार पुगेको यस बेला 
जीवनका मधुर नाराहरू चोरी गरेर 
मान्छेहरू
झूट बोल्न बसेको कुरा सत्य हो
 कसैको अनैतिक इच्छामा 
फस्न नचाहने म
मेरा इच्छाहरू
बारम्बार फटाहाहरूको फन्दामा परेको सत्य हो 
स्वाभिमान जोगाउन खोज्दा
धेरैचोटि खतरामा परेको र 
आफ्नै स्वाभिमानको भारले 
थिचिएर पातलो भएको म 
आफूलाई चिन्न
आफैसँग हिँडेको सत्य हो
मेरा प्रश्नले खोजी गरेका व्यक्तिहरू 
अहिले जहाँ हिँडिरहेका भए पनि 
सत्य बोलिदिने
र इमान बचाइदिने कोही नभएको यस बेला 
जसले जे टिप्पणी गरे पनि
तिनका टिप्पणीहरू
क्षमा गर्न लायक छैनन् भन्छु 
मेरा प्रश्नहरूलाई अनुत्तरित राख्दै 
समय हिँडिरहेको यस बेला 
मेरो दुःख हेर्न बानी परेकाहरूलाई 
मेरो विजयले दुःख दिन सक्छ
तर
गोपाल पराजुली 
आफ्नो विजयमा
र मृत्युमा कसैलाई
कुनै विज्ञापन दिनेछैन 
सबैलाई विश्वास गर्ने 
मेरो कमजोरीमाथि टेकेर
शत्रुहरू माथि जाने प्रार्थना गरिरहेछन् 
शत्रुहरूको यो अनौठो प्रार्थनाको समय 
मैले मेरो लेखकलाई बचाउन 
संसारका धेरैकुरा गुमाउने
आज शपथ लिएको छु