मानव–अधिकार / हरि अधिकारी
मेरा हत्याराहरू मेरै शोकसभामा धाराप्रवाह बोलिरहेछन्
म त्यही आलङ्कारिक भाषणको प्रशंसा गर्न अभिशप्त छु।
जेनेभाको भव्य सभागारमा
मेरो लासलाई बीचमा राखेर
मानिसहरू चिच्याइरहेछन् (यसरी मानवताको हत्या गर्न पाइन्न)
उता किगाली र मोगादिसुका अँध्यारा बस्तीहरूमा
आत्महत्या जारी छ ।
मेरी दुःखी स्त्री र आमाहरूको पीडामाथि
जान्नेहरू अग्रलेख लेखिरहेका छन्
उता जाग्रेब र कोसोभोका गल्लीहरूमा
मेरी विधवामाथि बारम्बार बलात्कार भइरहेछ ।
राष्ट्रसङ्घको अग्लो भवनको माथिल्लो तलामा जम्मा भएर
विश्वका चिन्तित राजनयिकहरू रगतजस्तै
गाढा रातो रङ्गको मदिराको चुस्की लिँदै
मेरा टुहुराहरूको भविष्यबारे श्वेतपत्र तयार गर्दै छन्
उता रियो र साओपाउलोका सडकहरूमा
मानिसका छाउराहरूलाई पहरेदारहरू नै छप्काइरहेछन् ।
म कागजका चाङहरूमा पूर्णतः सुरक्षित भएको छु
यद्यपि काबुलको भग्नावशेषमा थिचिएर
मेरो प्राण निस्किएको एक जुग भइसकेको छ ।