छोरी / राजेन्द्र शलभ
आमालाई अँगालो हालेर
म्वाई खान्छौ
मलाई हेरेर मुस्कुराउँछौ मात्र
म तिम्रो अँगालोमा
किन आउन सकिन छोरी ?
तिमी बिरामी हुँदा
रातभरि छातीमा टँसेर सुताएकै हुँ
कुममा बोकेर बजार लगेकै हुँ
तिम्रो घोडा बनेर
तिमीसँग घण्टौं खेलेको पनि हुँ
तै किन म
आमा जति नजिक हुन सकिन ?
हुन त बाऊ भएर
अलिकति खरो भएँ होला
आमाले भनेर
उनको भागको गाली पनि
मैले नै गरें होला
तर तिमीलाई पीरेर
एक्लै कोठामा थुनिएर म पनि रोएँ
शायद त्यसैको प्रतिफल होला
अहिले त्यसै काम्छन् यी औंलाहरू
एउटा कुरा सम्झी राख्नु
आमाले जति माया नगरे नि
आमाले जति ममता देखाउन नसके नि
आमाले भन्दा कुनै पनि अर्थमा
कम्ति माया गर्दिन तिमीलाई
शायद बाबु भएर होला
सबै कुरा भन्न सक्तिन तिमीलाई।
डाहा गरेर होइन छोरी तर तिमी सानो हुँदा
जसरी सानो चोटले पनि
मेरो काखमा घुस्रिएर
घाऊ देखाउँदै रून्थ्यौ
मलाई पनि त्यसरी नै आज
तिम्रो अँगालोमा बेरिएर
रून मन लागेको छ ।