मायालु...! / सीमा आभास
मेरो आँगनमा
उसले घाम पठायो
शीत पठायो
खामभित्र चराको सुसेलीसँगै
उसले गुनगुनाउने धून पठायो ।
म मौन बसेपछि
छोडेर गयो
मलाई उडाउन नसक्ने आँधी भनेर ।
ऊ फर्किएपछि
मैले उसलाई घाम पठाउन सकिनँ
शीत पठाउन सकिनँ
खामभित्र चराको गीत पठाउन सकिनँ ।
उसले साँचेको हुनसक्छ
मेरोलागि–
मीठो, नमीठो सम्झना गहिराई
बेनिन्द्रा मुस्काउने एकान्त
बग्दो हावामा अल्झिएको समर्पण
फूलको शीत,
शीतको गहिराइमा डुबेको नदीफूल
हृदयमा लुकाएको तस्वीर
थोपाथोपा पीडा
छुट्नुअघिको सम्झनास्पर्श
सेताफूलमूनि ओझेल परेको छायाँ
मेरोलागि रोपेको हँुदो हो उसले
फूलमा ओर्लने बिहान
जलकुम्भीमूनि लुक्ने आँसुतलाउ
गहिरो आकाशमा उड्ने नीला याद
पलपल आगोमा डुब्दै गरेको आश
चुल्ठोभरि छरिएको सुदूर सम्झना
सपनामा बर्बराउँदै भन्दो हो–
हावा लागेको रूखको पातमा
पछ्यौरी बनेर फरफराउने
मायासलाम तिमीलाई...!
मायालु...!
आगोमा उभिएको आँधीसलाम तिमीलाई...!
हाँस्न नसकेको आँसुसलाम तिमीलाई...!
तिमीले नदिएको घामसलाम तिमीलाई...!