कति सुन्दर हेर किताब-चरो
दुइ पंख फिजाउँछ यो बिचरो
कति थोप्लिइ खोल्दछ झिल्मिल यो
म त मग्न बनीकन हेर्छु अहो ।
कति छन् तह हेर भुवा यसमा
कति प्वाँख फिजाउँछ क्या रसमा
जति हेर्छु उडाउँछ दूर कता
म चढी यसमा छु सधैं विपता ।
कहिले म त बादलका महल-
तिर पुग्छु सुनै सुन झैं असल !
जसबीच कथाहरूको दुनियाँ-
हरूमा म विचार्दछु बात नयाँ ।
कहिले परदेश पुगेर कता
तसबीर भईकन छक्क म ता
पटना र बनारस बंबईमा
म त डुल्दछु रंग भरी भुइँमा ।
कहिले कति सागर पार पुगी
म त लन्डन डुल्दछु हेर ! सँगी
कति मोटर बस् कति ट्राम हुने
र हवाइ-जहाज उडीरहने ।
म त गर्छु कुरा कतिसाथ कति
अघिका अघिका जति गर्छु उति
मुख मात्र रसाउँछ अमृतले
लिन छन्द मिठास खुशीसितले
अघिका अघिका दरबारहरू
झलमल्ल खुली तरवारहरू
झललल्ल बनीकन देख्छु म ता
इतिहास भयो र कथा कविता ।
कहिले म त देख्दछु दृश्य नयाँ
कहिले सुखको दुखको दुनियाँ
अघिका जुगसाथ म गर्छु कुरा
कति मोज छ चढ्नु किताब-चरा ।