दुर्बोध्य समय र दोभासेहरूको खोजी / निमेष निखिल
समय निकै दुर्बोध्य भएको छ आज
कतै भेटिएका छैनन्/देखिएका छैनन्
म खोजिरहेछु/हेरिरहेछु
मेरो भाषामा समय बुझाउने दोभासेहरू ।
भन्नेहरू घाम लाग्नुको पनि अर्थ छ भन्छन्
पानी पर्नुको पनि अर्थ छ भन्छन्
भाग्दाभाग्दै अर्थहरूको पछिपछि
थाहा छैन कहाँ छुटे जिन्दगीका अर्थहरू
बाँकी छ त तिनै अर्थहीन शब्दहरूको कोलाज छ
मेरो चेतनाको परिसरवरिपरि ।
शब्दमा बोल्दैन समय
छातीमा घोडेटापजस्ता किरिङमिरिङ डोबहरू
खोलाको एकोहोरो रागजस्तो भाषा
कविताका अप्रचलित प्रतीकहरूको जस्तो उद्घोष
र हुरीको वेगझैँ शब्दतरङ्ग
यस्तैयस्तै भाषा बोल्छ समय ।
अब अर्थिनुपर्छ कहिल्यै अर्थिन नसकेको समयभाषा
उत्खनन गर्नुपर्छ अब
यसमक्रममा अर्थको पछिपछि भाग्दा हराएका
जिन्दगीका अर्थहरू
सधैँसधैँ प्रतिकूलताको अर्को नाम होइन समय, हुनुहुँदैन
एउटा निरस्त्र र प्रेमपूर्ण आक्रमण
सायद मागिरहेछ समय मान्छेसँग आज, यस्तै लाग्छ ।
र, समय निकै दुर्बोध्य भएको छ
खोजिरहेछु म आज पनि
मेरो भाषामा समय बुझाउने दोभासेहरू ।