धर्मकर्म / विष्णु न्यौपाने
बाँच्ता जीवन धान्न वा मन सदा सन्मार्गमा ल्याउन ।
द्यौतामा शिर , देह लम्पट गरी वैकुण्ठ वासी हुन ।।
बस्छन् मन्दिरमा अतृप्त फलको विश्वास ,आशा गरी ।
त्यस्ता मानव मात्र मोक्ष कुलमा पर्छन् कसोरी हरि ?
(१)
आधा मुण्डित भै ललाट भरिको घस्ता खरानी कुनै ?
आँखा चिम्मगरी पुकार हरिको गर्दा छ मुक्ति कुनै ?
फैलाईकन हात शून्य निशिमा के सिर्जना गर्नु हो ?
खाएरै अरुको कमाइ यसरी कुन् स्वर्गमा पर्नु हो ?
(२)
मात्रै काम गरी पराइ जनको अर्पन्छ आफ्नो जुनी ।
कस्तो मुक्ति कमाइ गर्छ उसले के प्राप्ति गर्छन् तिनी ?
जो अल्छी अति काम चोरहरू छन् कृष्णादि जप्ने तिनै ।
वेकम्मा जन ती बसाइँ सरलान् वैकुण्ठमा के सधैं ?
(३)
छिः छिः बन्दछ सम्प्रदाय नमिले सन्तान, आफ्नै पति ।
बाटो वा पद–डोबमा छुइछिटो हाल्छन् अहो ! दुर्मति ?
जो गर्दैन कमाइ तप्प पसिना काढेर त्यो माथमा ।
त्यस्को गाँस अवश्य कट्छ उसका सन्तानका गाथमा ।।
(४)
थ्यौं काहाँ ?इतिहाँस के छ अघिको ?कर्तव्य के हो भनी ।
बिर्सेझैं अव गर्छ ‘ढोंग’, ‘नखरा’ ऊ नाट्य कर्मी बनी ।।
काँचा मानिस रे , असभ्य कुलका सन्तान रे दानव ।
यौटा मन्त्र सुनेर देव कुलमा उत्रन्छ के मानव ?
(५)
हो राम्रो प्रण काट मार अथवा हिंसा नगर्ने पन ।
रक्सी,मासु, तमाखु, भाङ, धतुरो मत्याइला रासन ।।
आत्माको जड प्राण हो यदि भने खैंचेर प्राणै पनि ।
मार्नु पाप रहेछ देह बिचरा धिक्कार आस्था पनि ।।
(६)
हाम्रा हात, शरीर, पाउहरू वा मस्तिष्क पायौं किन ?
गर्दै काम बगाइ तप्प पसिना ऐश्वर्य फैलाउन ।।
सेवा गर्नु , परोपकार सबमा सद्भावको भावना ।
त्यो नै धर्म, सुमार्ग,स्वर्ग अझ हो वैकुण्ठको आसन ।।
(७)