आँसु बनेर बर्सन्छ घाम / विष्णु न्यौपाने
बिछ्याएर उज्यालोका किरणहरू
जब पोखिन्छु म कन्दराहरूमा
गिज्याइरहन्छन् मलाई भोका आँसु र नाङ्गा क्रन्दनहरूले ।
बिहानी बनेर जब झुल्कन्छु नदी किनाराहरूमा
चिच्याइरहन्छन् अभावका सुस्केराहरू
बिछोडका लासहरू चितामा उभ्याएर ।
मजबुरीको सिलौटामा पिसिँदा त्यागिएका दुधेबच्चाहरू
मातृत्वकै प्यासमा अश्रुमय जीवन चढाएको देख्छु ।
नाल नबेड्याउँदै बनेका टुहुराहरूको
रोदनमय मृत्यु देख्छु
छाती चर्कन्छ मेरो ।
अभाव टार्न विदेशिएका लोग्नेमा
औंस्याहा उठी सक्ता पनि
स्वास्नी र सन्तानले मोवाइलको म्यासेज बक्स वा
मनिट्रान्स्फरका ढोका कुर्नुको पीडा देख्छु ।
भर्भराउँदो सन्तान सिलबन्दी बाकसमा फिर्ता हुँदा
चिरिएको आमाको छाती देख्छु ।
मन दुख्छ असाध्य,
उर्लन्छ डढेलो झैं म भित्रको संवेदना ।
अनि, एक टुक्रा कालो बादल तानेर
छोप्छु सबै दृश्यहरू ।
चुहिन्छन् मेरा आँखा झरी बनेर तर्तरी
बर्षाउँदै वेदनाका आँसुहरू ।
१४. भयवाद !
सिर्जनाको बगैँचामा आँधीले झारेको पात हो भयवाद ।
मौनतामा चम्किएको विद्युतीय तरङ्ग हो भयबाद ।
दुःख पग्लिएर चुहिने गाला
सुख उग्लिएर बाटिने परेला
रिक्त मुटुको तीब्र धड्कन पनि हो भयवाद ।
सुनसान रात, मूर्दा घाट
बम, बारुद वा हतियारका धार
तुफान , सुनामी, चट्याङ ,अन्धकार
होइन मात्र कुनै घात प्रतिघात
जीवन विचलनको प्रत्येक पल स्वयं हो भयवाद ।
अनिच्छाका गलामा झुन्ड्याइने धर्मचित्रहरू
अनिच्छित ललाटका होमादि रेखी वा शरीर स्टाम्पहरू
अनायास चर्चामा आउने जङ्गे पिलर
अँध्यारा सम्झौता, घुमाउरा अनुदान
अस्पतालका शैया, साइरन, कम्पन
किन चाहियो कठघरा र शूली संयन्त्रहरू ?
आस्थाका नदीको प्रत्येक बाँध आफैं हो भयबाद ।
मानसिक तनाब वा सामाजिक सन्त्रास
नकच्चरो शासनले उब्जाएको उच्छ्वास
गाँसको ताडना र वासको विडम्बना
छातीमा स्यूरेको प्रत्येक जीवन कोखबाट जन्मनै लागेको
शिशुको भविष्य हो भयवाद ।
अनसन, जुलुस, सडकधुवाँ, बुट र बन्दुकका आवाज
किन चाहियो र मृत्यु भरिएका समाचार
वा अखवार ?
सङ्कट ग्रस्त जीवन–गलाको प्रत्येक श्वास
स्वयम् हो भयबाद ।
आस्थाका नदीको प्रत्येक बाँध स्वयम् हो भयवाद ।
जीवन विचलनको प्रत्येक पल स्वयम् हो भयवाद ।