भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

त्रासद वर्तमान / निमेष निखिल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:18, 4 जून 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=निमेष निखिल |अनुवादक= |संग्रह=उमे...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


कहालिएका मान्छेहरू
खडेरी प्रदेशबाटै बगाउन खोजिरहेछन्
आत्मीयताका नदीहरू
खसे हुने हो
किन खस्तैन सूर्य खै !
असारे झरीजस्तै
खै किन बर्सँदैनन् आकाशबाट ताराहरू ?
पाइला पाइलामा अनुहार फेरेर
नग्न नृत्य देखाउँछ बुढो समय
यात्रा फेरि पनि रोकिएको छैन
मान्छे नामको ताम्रपत्र छातीमा टाँसेर
हिँडेकै छ मान्छे यात्रामा
छेकारा तेर्सिएर उभिन खोज्छन्
यात्रापथमा निर्लज्ज
समयको चेपबाट चिहाइरहन्छ दुन्दुभि।
 
एक मन लाग्छ
खडेरी परोस् खग्रास
र सुकून् सारा ताल, नदी, हिमनदी, सागर, महासागर
दिग्विजयी मान्छे
विज्ञान र विश्वासले फेरि पनि अवश्य खोज्ने छ
जीवनका असङ्ख्य सम्भावनाहरू।
 
समयको अविजेय रफ्तार
टेक्दै दगुरिरहेछ
मान्छे मनको परिसर
डोबहरू छैनन् यात्रामा
रगतका छिर्काहरू खित्खिताइरहेछन्
हाम्रै टेलिभिजनको समाचारजस्तो
हाँसो लेपन गरिएका अनुहार
विकृत हाँसिरहेछन् समयका पर्दाभरि।
 
मान्छेको भित्री देखिने ऐनाहरू
खै कहिले आविष्कृत हुन्छन् हेरौँ !
अतृप्तिका निर्जन पहराहरूबाट
ससाना धँगेरीका राता फूल टिपेर
माला उन्ने आत्मीय रुखहरू
अझै पर्खिरहेछन्।
 
समय उल्टो बगेपछि
बस्तीहरूमा खैलाबैला हुन्छ
बन्दुकको भुकाइमा
छम्... छम्... छम्...
नाच्छ मान्छे
एउटी कुशल नृत्याङ्गना झैँ
बमगोलाको उत्सवमा
विष्फोटका रङहरू मिसिन्छन्
विध्वंससृष्टि सशरीर उपस्थित हुन्छ
र गर्भाधान गर्छ
कलिला पोथ्राहरूमा
रुखहरूमा विषाद झ्याङ्गिन्छन्
सुस्केरा फुल्छन्
र मृत्यु फलेर भित्रिन्छन्
बस्ती बस्तीमा
संहारको ताण्डव आयोजनामा
कम्पायमान हुन्छ बस्ती मानौँ आनन्दातिरेकले
रेटेर लोग्नेका घाँटीहरू
जङ्गली ब्वाँसाहरूसँग सहवास गर्छन् स्वास्नीहरू।
 
रातो राम्रो हुन्छ भने
रगत झन् राम्रो हुनुपर्ने
शान्तिमा सौन्दर्य हुन्छ भने
किन फुल्दैनन् फूलहरू मसानमा?
मान्छेसँग भयभीत
हिंस्रक जङ्गली सिंहहरू
मान्छेसँगै सोधिरहेछन्
प्रश्नहरू बारम्बार।
 
विश्वासमा पहिरो भएर भत्केको छ मान्छे
खोलामा रगतको भेल भएर बगेको छ
रेटेर आस्थाका आँकुराहरू
वीरताको गौरवबोध गरिरहेछ मान्छे आज
हरेकपल्ट झस्कन्छु ऐना हेर्दा
भत्केका आकृतिहरू
मान्छे भएर टाँसिन्छन् अनुहारभरि
मलाई आफ्नै आकृति पनि मान्छेजस्तो लाग्छ।
यस्तो लाग्छ म भत्केको छु
भत्केका हामी छौँ
समग्र मान्छे भत्केको छ ऐनामा
अज्ञात भयका बिरुवाहरू उम्रँदा रहेछन्
आफै भत्केको दारुण दृश्य देख्दा ऐनामा
मान्छे भत्कनु भनेको
मन भत्कनु पनि रहेछ
आस्था अनि आशाहरू भत्कनु पनि रहेछ
समग्रता भत्कनु पनि रहेछ।
 
बाढीले सोहोरेर लगेका आकाङ्क्षाहरू
क्रमशः क्रमशः बगिरहेछन्
झरिरहेछन् अज्ञात प्रदेशतिर
यति बेला
बाटो नपाएर अवरुद्ध छ रहरहरूको ताँती
जिन्दावाद छैनन्। छैनन् मुर्दावादहरू
बेजान लासजस्तो निरीह लम्पसार छ समय
फुल्नु पर्ने हो, फूलहरू फुलेका छैनन्
उम्रेका छैनन् टारबारीभरि रोपेका
आशाका फसल। आस्थाका फसल
आत्मीयताको खडेरी छ सर्वत्र
मान्छे मान्छेजस्तो छैन / समय समयजस्तो छैन
समय र मान्छे आश्चर्य चकित छन्
एक अर्कालाई देखेर।
 
बेखबर समय
बेखबर मान्छे
आफ्नै कहालीलाग्दो पीडाका खबरले भरिएका
अखबारहरू ओसार्छन्। पढ्छन्। रुन्छन्। हाँस्छन्
बस्तीमाथिको आकाशमा
गिद्धहरूको बादलभित्र हराएको छ एउटा बिरामी सूर्य
बेलाबेलामा आतङ्क बाहेक
अहँ, बर्सन्न केही बस्तीमा
आँगनमा रक्तपिपासु गोहीहरूको परेड छ
बज्रेका छन् बुटहरू साङ्गीतिक लयमा
घन्किरहेछ बन्दुकहरूको राष्ट्रिय गान
र दौडिरहेछन् अज्ञात भयका लहरहरू
बस्तीका सडक र गल्लीहरूमा
बल्ल छाएको छ शान्ति
... गाउँमा
... ... बस्तीमा
... ... ... देशमा
निस्तब्ध शान्ति। निर्जीव शान्ति।
 
आतङ्कित मान्छेहरू चिच्याउछन्
ए सुन !
ए सुन !!
ए सुन !!!
हामीले खोजेको शान्ति त्यो होइन
हामीलाई मान्छेपीडासँगै बोलेको शान्ति चाहिन्छ
हामीलाई मान्छेमुस्कानसँगै हाँसेको शान्ति चाहिन्छ।
 
सधैँसधैँ रोग, भोक र अशिक्षाका कुरा
सधैँसधैँ अभाव, गरिबी र भोकमरीका कुरा
... सधैँ यातनाका कुरा
... ... सधैँ आतङ्का कुरा
... ... ... सधैँ मृत्युका कुरा
... ... ... ... सन्त्रासका कुरा।
 
के हामीले देशका बारेमा सोच्नु पर्दैन ?
जीवनका बारेमा सोच्नु पर्दैन ??
मान्छेका बारेमा सोच्नु पर्दैन ???
 
असङ्ख्य अनुत्तरित प्रश्नहरूको शिविरमा उभिएर
म हेरिरहेछु
हामी हेरिरहेछौँ
त्रासद वर्तमानका रङ्गीन संस्करणहरू
क्रमश:
निस्किरहेछन्...
निस्किरहेछन्... ...।