दशैं / सविता गौतम दाहाल
क्यालेन्डरका राता अक्षर
घर जाने नियमित संकेत दिन्थे
एउटा वार्षिक चटारो
धमाधमको किनमेल
अति कुदाकुदको नियक्ति !
बुढो घरका माकुराका जाला एक्लै झारियो
मैला पर्दा,तन्ना, खोलहरु खोला पुरयाएर
मुङरोले पिटी पिटी
कम्मर चुडिंनेगरी धोइयो
खडकुला र गाग्रा
बुइकेंलबाट निकालेर
चरी अमिलोले टलक्क टल्काइयो
मासुका चिल्ला भाँडा
नङ खिइने गरी माझियो
वर्ष दिनको चाड , सिर्फ र सिर्फ
सर– सफाई, धुलो– धुलाइ र आगो– सलाईमा वित्यो ।
देवी थानको दर्शन गर्न
अध्यारै ३ बजे डाडाँ उक्लीयो
उज्यालोको रममmम त कता हो कता
न कुनै दिन लिङे पीङसम्म पुग्न भ्याइयो
न कसैले पालो दियो
रातो टिका मात्रले सारा सकस आर्शिवादमा वदलि दिन्थ्यो ।
यो भएन, त्यो भएन
काण्ड पछि काण्ड
व्यर्थ श्रृंखला
दाउराको धूवाँ,भाडाँकुडाँको आवाज
थाक्नुको पराकाष्ठा ।
एउटा शक्ति, एउटा पहिचान, एउटा संस्कार
सबै भरिएको अटूट आस्था
चुपचाप उड्यो वा उडाइयो ।
उफ !
म यो इजरायली काकीको आधुनिक भान्साघरमा
किन सम्झिरहेछु गाँऊको दशैं ?